सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु, सबै सौर्य एयरका कर्मचारी (नामावलीसहित)

सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु, सबै सौर्य एयरका कर्मचारी (नामावलीसहित)

काठमाडौं ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा जान लागेका थिए ।

जहाज रनवे ०२ बाट पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । सुशान्तको मृत्यु भएको छ ।

विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।