नेप्से परिसूचक २८ महिनायताकै उच्च,१४ अर्बको सेयर कारोबार

नेप्से परिसूचक २८ महिनायताकै उच्च,१४ अर्बको सेयर कारोबार

काठमाडौँ ।

मंगलबार नेप्सेले मनोवैज्ञानिक विन्दु पार गरेको छ।

आज नेप्से ७५.३३ अंकले बढेर २४८५.९४ विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७८ चैत १६ गते २३६८ विन्दुमा नेप्से पुगेको थियो।

त्यसयताको आज उच्च विन्दु हो।

मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

सोमबार १३ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१७ वटा धितोपत्रको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन छ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ भने साहस ऊर्जाको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

गणपति लघुवित्तको मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको मूल्य एक हजार ९३५ रूपैयाँ ३० पैसा कायम भएको छ।

यस्तै, १०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५को मूल्य ३.९५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १५९ रूपैयाँ १० पैसा कायम भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ५८८ रूपैयाँमा २४ करोड ६९ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २३५ रूपैयाँ ८० पैसामा २४ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ४.४५ प्रतिशतले बढेको छ।