आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौँ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्‍यो?
महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा दैलेखको ग्वाटीमा भारी वर्षा भएको छ। त्यहाँ ९२ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै पर्वतको कार्किनेटामा ८८ मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोक र काठमाडौंका केही भूभागमा पनि भारी वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको दुबाचौरमा ७३ मिलिमिटर, नवलपुरमा ५५.६, बाहुनेपाटीमा ५०.२ मिलिमिटर वर्षा भएको छ। बाँसखर्कमा ५० र गोबरे केन्द्रमा ४८.८, मानेखर्कमा ४४.८ मिलिमिटर वर्षा भएको छ।

काठमाडौंको सुन्दरीजल केन्द्रमा ५३.२, कपन क्षेत्रमा ६४.८, बबरमहल मापन केन्द्रमा ६२.२, नैकापमा ५५.८ मिलिमिटर वर्षात भएको छ।