चितवनमा अति भारी वर्षा मापन, आज यी प्रदेशमा भारी वर्षा हुने

चितवनमा अति भारी वर्षा मापन, आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ ।

चितवनमा अति भारी वर्षा मापन भएको।

पछिल्लो चौबिस घन्टामा चितवनको गोविन्दवस्तीमा २१८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ २४ घन्टामा १२८.६ मिलिमिटर पानी परेको छ।

सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो चौबिस घन्टामा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ।

त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ।

पछिल्लो चौबिस घन्टामा खोटाङको रबुवाबजारमा ७७.४ मिलिमिटर, सोलुखुम्बुको पेकरनासमा ५७.४ मिलिमिटर, दोलखाको लामाबगरमा ९३ मिलिमिटर, चितवनको शक्तिखोरमा ९४.२ मिलमिटर, लमजुङको कुन्चामा ९१.२ मिलिमिटर, बेशिसहरमा ८९ मिलिमिटर, कास्कीको सिकलेसमा ४० मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४१.६ मिलिमिटर, भक्तपुरको तथलीमा ५४.८ मिलिमिटर वर्षा मापन भएको छ।

मौसमको भाषामा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।