एक किलो कोकिनसहित काठमाडौं बाट २ जना विदेशी पक्राउ

एक किलो कोकिनसहित काठमाडौं बाट २ जना विदेशी पक्राउ

काठमाडौं ।

एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो ।

इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो ।

उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए । उनलाई काठमाडौँ-२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

नसिमुद्दिनले उक्त लागु औषध कोकिनसहितका जुसका बट्टाहरू काठमाडौँ-९ पिङ्गलास्थान स्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । ओबडोफुला साउन १ गते नै कतार एयरलाइन्सबाट नेपाल आएका थिए ।

उनलाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बयान दिएका छन् । होटल पुगेपछि उनले कोकिनका क्याप्सुलहरू जुसको बट्टाहरूभित्र लुकाएको खुल्न आएको हो ।

बरामद गरिएको कोकिनको तौल १ केजी १०० ग्राम रहेको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ ।