सिमलताल पहिरो : थप ३ जना यात्रुको सनाखत

सिमलताल पहिरो : थप ३ जना यात्रुको सनाखत

काठमाडौँ ।

चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ ।

भेटिएका शवमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन ।

उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो ।

अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको हो ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।