आज यी ८ जिल्लामा बाढीको उच्च जोखिम, सर्तक रहन आग्रह

आज यी ८ जिल्लामा बाढीको उच्च जोखिम, सर्तक रहन आग्रह

काठमाडौं ।
बुधबार बिहान मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थान र सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम तथा बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा बिहान भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बागमती, गण्डकी र कर्णालीका एक-दु स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार वर्षाका कारण ८ जिल्ला र त्यस आसपास भई बहने अधिकांश ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूको वहाब बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले ठूला नदीहरूको वहाब भने तीन दिनसम्म सामान्यदेखि उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

बुधबार दूधकोशी रूवाबजारमा, तामोशी बुस्तीमा, सुनकोशी हम्पचुवारमा, कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती दिपायलमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

बाढीको जोखिम रहेका स्थान र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।