छोराबुहारीले जङ्गलमा छाडे ७० वर्षीय बुबालाई, गस्ती टोलीले भेटेर गर्यो उद्धार

छोराबुहारीले जङ्गलमा छाडे ७० वर्षीय बुबालाई, गस्ती टोलीले भेटेर गर्यो उद्धार

मोरङ ।

मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।

बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ, उनले भने ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उहाँ धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आउनुभएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् ।

चौधरीका अनुसार बेलबारी ७ स्थित एक आफन्त कहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोरासँग बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा रहेको बताइएको छ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीस्थित आफ्नाको घरबाट हिँडेका वृद्धलाई त्यसपछि जंगलमा छाडिएको हुनसक्ने वडाध्यक्ष चौधरीले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन् ।