खोरमै पसेर बाघले मार्‍यो १२ वटा बंगुर

खोरमै पसेर बाघले मार्‍यो १२ वटा बंगुर

दाङ ।

दाङको तुलसीपुरमा बाघले एउटा बंगुर फर्ममा पसेर एक दर्जन बंगुर मारेको छ।

तुलसीपुर उपमहानगरपालिका–८ कटकुँइयास्थित ओके बहुउद्देश्य कृषि तथा पशुपंक्षी फर्ममा पसेर बाघले एक दर्जन बंगुरका पाठा मारिदिएको हो।

आइतबार बिहान २ बजेतिर आफूले पाल्दै आएका एक दर्जन बंगुरका पाठा बाघले मारिदिएको फर्म सञ्चालक २९ वर्षीय कमल रोकाले बताए।

तीन महिना बढी उमेरका १५ देखि २० केजीका पाठाहरू बाघले फर्मभित्र पसेर मारिदिएको उनले बताए। त्यसबाट आफूले झन्डै एक लाख हाराहारी नोक्सान बेहोर्नुपरेको उनले बताए।

नजिकैको छुट्टै अर्को खोरका नौ वटा माउहरू भने सकुशुल रहेको उनले बताए।

यसैबीच आइतबार मध्य रातितिर बाघ पनि फर्ममा आएको उनी बताउँछन्।

डमरूसहित बाघ सामुदायिक वन जंगलबाट आउँदा सर्वसाधारण त्रसिद बनेका छन्। केही दिन पहिले मात्रै तुलसीपुर–९ को सामुदायिक वनमा बिहान ५ बजे च्याउ खोज्न गएका तीन महिला बाघको आक्रमणमा परी घाइते भएका थिए। उनीहरू उपचार पछि घर फर्किसकेका छन्।

स्थानीयहरूले पाटे बाघ नै भएको दाबी गरे पनि त्यो चितुवा हुन सक्ने प्रहरी प्रशानका अधिकारीहरूको अनुमान छ।