६० रुपैयाँ पर्ने तरकारी २ सय रुपैयाँमा बेच्दै व्यापारी, ठगीदै उपभोक्ता

६० रुपैयाँ पर्ने तरकारी २ सय रुपैयाँमा बेच्दै व्यापारी, ठगीदै उपभोक्ता

उदयपुर ।

जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् ।

त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताए । ‘असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो ५० रुपैयाँ पर्नेमा अहिले एक सय पचास रुपैयाँ पर्छ’, उनले भने ।

स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताए । ‘सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो’, उनले भने । असारको १५ गतेसम्म बोडी प्रतिकेजी ६० रुपैयाँ देखि सत्तरी रहेकामा अहिले एक सय ८० देखि दुई सय रुपैयाँ पर्ने गरेको छ ।

‘दैनिक तीन सयदेखि चार सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने मजस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु’, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले प्रश्न गरे ।

फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन् ।

कृष्णप्रसद खनालले भने, ‘बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन् । यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ ।’ यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेका उनले बताए । यस विषयमा सरोकारा भएका निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेका यहाँका उपभोक्ता बताउँछन् ।