एमाले र कांग्रेसबाट को को बन्दैछन् मन्त्री ?

एमाले र कांग्रेसबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौँ ।

नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।

त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ ।

सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।

जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ । यी चार मध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ ।

नेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगाएको छ। एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्।

उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ।

सोलुखुम्बुका मानवीर राई रक्षा मन्त्री,  देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री टुंगो लागेको छ। विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि भन्ने टुंगो लागेको एक नेताले बताए।

एमालेले बलराम अधिकारी र दामोदर भण्डारीलाई दोहोर्‍याउने भएको छ। अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लागेको हो।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्।