त्रिशूलीमा खसेको बसमा रहेका एक यात्रुको शव चितवनमा भेटियो

त्रिशूलीमा खसेको बसमा रहेका एक यात्रुको शव चितवनमा भेटियो

काठमाडौं ।

त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ।

शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए।

मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन्।

उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो। उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन।

प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ।

‘ग्लोबल आइएमइ बैंकसँग समन्वय भइसकेको छ। त्यहाँबाट थप परिचय सबै थाहा हुन्छ,’ डिएपसपी रिजालले भने।

मुग्लिन-नारायणघाट सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार‍ पहिरोसँगै बस बगाउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन्।