त्रिशूलीमा बेपता गणपति डिलक्सका २९ यात्रुको नामावली

त्रिशूलीमा बेपता गणपति डिलक्सका २९ यात्रुको नामावली

रौतहट ।

काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेको पाइएको छ । शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा बेपता भएको उक्त बसमा सवार २९ जना यात्रुमध्ये अधिकांशको नाम र ठेगाना सार्वजनिक भएको हो ।

काठमाडौँबाट गौर आइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेको थियो । बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए ।

सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । बेपत्ता हुनेमा बली राउत पटेल, हरिचन्द्र यादव, राज पटेल, पर्शुराम साह बनिया, मिना देवी साह, नरेश साह बनियाकी श्रीमती रिन्कु साह बनिया रहेका छन् ।

यस्तै प्रिन्स जैसवाल, अकलु राउत पटेल, गुडु पटेल, सिनोज दास, बसका सहचालक लक्ष्मण यादव, सहुप मिया, नरेश साह बनिया, गाडी चालक किशोर कुमार चौधरी बेपता भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । अन्य यात्रुको पहिचान खुल्न नसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेका थिए ।