ललितपुर छापा प्रकरण : थप १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

ललितपुर छापा प्रकरण : थप १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ।

ललितपुरमा अवैध रूपमा सुनको कारोबार गर्ने घटनामा संलग्न अर्का एक जना काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौंको बसुन्धराबाट थप एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

ललितपुरमा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा काठमाडौंमा रहेका अर्का व्यक्तिको पहिचान खुलेको हो। ती व्यक्तिबाट एक किलो सुन बरामद भएको सुवेदीले बताए। बरामद भएको सुन परीक्षण गर्न भने बाँकी छ।

‘सं‌गठित रूपमै सुन तस्करी गर्ने गिरोह हो कि भनेर अनुसन्धान भइरहेको छ,’ एसपी सुवेदीले भने।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका विजय सम्पथ छन्।

बिहीबार मात्रै अवैध सुन तस्करी गरेको भन्ने सूचनाको आधारमा ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक फ्ल्याटमा छापा मारेको थियो। त्यहाँबाट प्रहरीले सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो। उनीहरूबाट १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिम कार्ड, ५० लाख चार हजार ७३० रुपैयाँ र सुन पगाल्ने मेसिन बरामद गरेको छ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका-८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।

उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।