विस्मृतिमा मायादेवी सुत्केरी पथ : संरक्षणको पर्खाइमा लुम्बिनीको ऐतिहासिक धरोहर

विस्मृतिमा मायादेवी सुत्केरी पथ : संरक्षणको पर्खाइमा लुम्बिनीको ऐतिहासिक धरोहर

लुम्बिनी विकास कोषले बन्द गरेको मायादेवी सुत्केरी पथअन्तर्गत पडरियास्थित मुख्य द्वार ।
  • रामविकास चौधरी

लुम्बिनी ।

लुम्बिनी विकास कोषको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसाधारणका लागि रोक लगाइएका कारण मायादेवी सुत्केरी पथ हुँदै मायादेवी मन्दिरसम्म जान चाहने यात्रुका लागि बाटो बन्द भएको छ । यो रोकका कारण धार्मिक आस्थाका यात्रुमा समेत निराशा उत्पन्न भएको छ ।

मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवा हुँदै तिलौराकोट दरबारसम्मको करिब ३६ किमी बाटोलाई मायादेवी सुत्केरीपथ भनिन्छ । लुम्बिनी विकास कोषले सो पथ लुम्बिनी गुरुयोजना विपरीत रहेको भन्दै आवतजावतमा रोक लगाएको हो ।

बुद्ध वचनको प्रचारप्रसार संसारभर भइरहँदा उनको जन्मसँग सम्बद्ध मायादेवी सुत्केरी (लुम्बिनी–तिलौराकोट) मार्गको प्रचार–प्रसार, संरक्षण र प्रवर्द्धनमा सरोकारवालाको ध्यान नपुगेको लुम्बिनी सांस्कृतिक नगरपालिका–६, पर्सा चोक बस्ने ६४ वर्षीय अभियानकर्ता मेघनाथ आचार्यको गुनासो छ ।

२०७७ साल मंसिर महिनामा मायादेवी सुत्केरी मार्ग पछ्याउँदै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले साइकलयात्रा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीबाट गोरेटो, ग्राभेल र कालोपत्र सडक हुँदै ४ घन्टामा शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका थिए ।

उक्त मार्गलाई पर्यटन प्रोडक्ट बनाउने अवधारणा लुम्बिनी विकास कोषका तत्कालीन सद्भावना राजदूत तथा पर्यटनविद् विक्रम पाँडेकाजीले ल्याएका थिए । तर, मायादेवी सुत्केरी भएपछि शिशुसहित तिलौराकोट दरबार फर्किएको बाटोको अवस्था विकासका बाबजुद अहिलेसम्म ओझेलमा छ ।

‘बुद्ध गर्भस्थ रहँदा र उनको जन्मपछि शिशुसहित महारानी मायादेवी यही बाटो हुँदै तिलौराकोटको यात्रा गरेकाले धार्मिक इतिहाससँग यो पथको गहिरो सम्बन्ध छ,’ मायादेवी मन्दिरका निवर्तमान पुजारी पण्डित योगेन्द्रनाथ पाण्डे भन्छन्, ‘यो पथले मायादेवीको सुत्केरी यात्राको सम्झना दिलाउँछ ।

लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकानन्दका अनुसार ‘मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगप्तको मार्ग दर्शनमा इ. पू. २४९ मा, उनीपछि चिनियाँ यात्रीहरू त्सेग साई (चौथो शताब्दी), फहियान (पाचौँ शताब्दी) र ह्वेन साङ (सातौँ शताब्दी) यही सुत्केरी पथबाट लुम्बिनी प्रवेश गरेका थिए ।’

‘सन् १३१२मा कर्णाली क्षेत्रका राजा रिपु मल्ल पनि यही पथ हुँदै मायादेवी मन्दिर क्षेत्र प्रवेश गरेका थिए,’ उनले भने, ‘अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहरर(सन् १८९६), पि.सी. मुखर्जी (सन् १८९९) र भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा लुम्बिनीको अन्वेषण गर्दा खुनगाई र पडरिया गाउँ हुँदै यसै पथबाट बुद्ध जन्मस्थल पुगेका थिए ।’

‘लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ पडरिया गाउँस्थित मुख्य प्रवेशद्वार बन्द गरी लुम्बिनी विकास कोषले संरक्षणमा समेत ध्यान नदिँदा मायादेवी सुत्केरी पथ विस्मृतिको गर्तमा जाने खतरा छ,’ बौद्ध भिक्षु विवेकानन्दले भने, ‘यो पथ भौतिक संरचना मात्र नभई धार्मिक तथा ऐतिहासिक धरोहर पनि हो, त्यसैले यसलाई प्रभावकारी व्यवस्थापनका साथ पुनर्संचालन गरिनुपर्छ ।’

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले धार्मिक आस्थाको सुत्केरी मार्गलाई बुद्ध जन्मस्थल लुम्बिनीमै बन्देज लगाएर धर्म, संस्कृति र इतिहासमाथि प्रहार भइरहेको बताए । उनले भने, ‘लुम्बिनी विकास कोषले मायादेवी सुत्केरी पथको पडरिया गाउँस्थित प्राचीन प्रवेशद्वारलाई सर्वसाधारणलगायत धार्मिक यात्रु समेतका लागि खोलिनुपर्छ ।’

‘सुत्केरी पथको संरक्षण प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने महाअभियानको माग छ,’ संयोजक खाँले भने, ‘स्थानीयसितको सहकार्यबिना कुनै कार्यक्रम सफल हुन सक्दैन । तसर्थ, स्थानीयको प्रत्यक्ष सहभागितामा आधारित योजना बनाउन आवश्यक छ ।’

‘बुद्ध जन्मस्थल लुम्बिनीको गौरवलाई ध्यानमा राख्दै, सरोकारवालासँगको सहकार्यमा यो पथको संरक्षण प्रवर्द्धन हुनुपर्छ,’ लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्राध्यापक गुप्ताले भने, ‘धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन विभिन्न पर्यटकीय सुविधाका साथ यसको व्यवस्थापन हुनुपर्छ, जसले स्थानीयको अर्थतन्त्रलाई टेवा पुर्‍याउन सक्छ ।’

ऐतिहासिक दस्तावेज र प्रमाणित तथ्यहरूका आधारमा मायादेवी सुत्केरी मार्गका बारेमा थप अनुसन्धान गर्नुपर्नेमा गुप्ताले जोड दिए । उनले भने, ‘सुत्केरी पथले लुम्बिनीको महत्वलाई अझ ओजिलो बनाउँछ । यसले इतिहासको मात्र संरक्षण नभई विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई मायादेवी सुत्केरी मार्गको महत्वबारे जानकारी गराउन मद्दत मिल्नेछ ।’

तथागत (महामानव बुद्ध)ले गृहत्याग गर्दा यही सुत्केरी मार्ग भएर पवित्र अनोमाघाट (अहिलेको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अजमाघाट) बाट दानव नदी पार गर्दै मावली नगर देवदह र मधगको राजगीर नगर हुँदै बोधगयासम्म पुगेकाे गुप्ताको दाबी छ । त्यसकारण पनि पवित्र सुत्केरी मार्गको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

यस सम्बन्धमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, ‘हामीले लुम्बिनी विकास कोष क्षेत्रस्थित मायादेवी सुत्केरी पथलाई व्यवस्थापन गर्न विभिन्न कदमहरू उठाएका छौँ । यो पथ ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ । त्यसैले यसको व्यवस्थापनमा विशेष ध्यान दिँदै सुत्केरी मार्गलाई संरक्षित राख्ने प्रयासमा हामी छौँ ।’

‘लुम्बिनी विकास कोष क्षेत्रको पडरियादेखि मायादेवी मन्दिरसम्मको सुत्केरी मार्ग खण्डलाई व्यवस्थित गर्न स्थानीयसितको सहकार्यमा चाँडै नै एउटा खाका कोर्न गइरहेका छौँ । जसका लागि केही बजेट पनि प्रस्ताव गरेका छौँ,’ सदस्य सचिव शाक्यले भने, ‘आकर्षक शैलीमा यो पथलाई नवनिर्माण गर्ने, चारैतिर हरियाली बढाउने, नियमित सरसफाइ गर्ने, पर्यटकलाई यसको महत्व बुझाउने र जानकारीमूलक बोर्डहरू राख्ने जस्ता कार्य कोषले चाँडै गर्न गइरहेको छ ।’