सिधा कुरा डटकमका अध्यक्ष युवराज कँडेलसहित तीन जनाविरूद्ध मुद्दा दायर

सिधा कुरा डटकमका अध्यक्ष युवराज कँडेलसहित तीन जनाविरूद्ध मुद्दा दायर

काठमाडौं ।

सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो।

सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो। उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो।

तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा पेस भएको छ।

सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो।

उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।

सिधाकुरा डटकमले प्रसारण गरेको डार्क फाइलमा जोडिएका अधिवक्ता किशोरकुमार विष्ट, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रहरी उपरीक्षक संजयसिंह थापा, क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले लगायतसँग सिआइबीले घटना विवरण कागज गराएको थियो।

यसअघि सिआइबीले अडिओमाथि अनुसन्धान गरी उक्त अडिओ नक्कली रहेको पत्ता लगाएको थियो।