एसईई : गणितमा १ लाख ७७ हजार विद्यार्थी फेल, विज्ञानमा कति ?

एसईई : गणितमा १ लाख ७७ हजार विद्यार्थी फेल, विज्ञानमा कति ?

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ ।

बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् । गणितमा विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् ।

अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन् ।

त्यस्तैगरी अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ३५२ जना र वातावरणमा ३ हजार ५११ जनाले एनजी ल्याएको तथ्याङ्क छ ।

दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।