पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ४ जना बेपत्ता

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं ।

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।

उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ ।

त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।

यस्तै,

मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको  छ। पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

यता,
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।