काठमाडौं ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम पूर्वानूमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी प्रदेशको पूर्वी भागसहित यी प्रदेशमा हाल मनसुनी प्रभाव छ । भारी वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
साथै देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाले यो हप्ताभर मनसुनी प्रभाव रहेका प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न पनि आग्रह गरेको छ ।
Comment