काठमाडौं ।
यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको भनाइ छ ।
यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।
आज लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष पश्चिम नेपालसम्म मनसुनी प्रणाली फैलिन दुई हप्ता लागेको थियो ।
मनसुन पश्चिमतर्फ सर्दै गएकाले अब गर्मीबाट केही राहत मिल्ने मौसमविदहरुले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका तराईका जिल्लामा असार ६ गतेसम्म तातो हावा चल्ने सूचना चार दिन अघि जारी गरेको थियो ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
Comment