माईखोलाको बाढीले ३ परिवार विस्थापित, एक जनाको शव फेला

माईखोलाको बाढीले ३ परिवार विस्थापित, एक जनाको शव फेला

झापा ।

झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलस्थित टोलको पश्चिमतर्फबाट कन्काई माईखोलाले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् ।

टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ ।

 

खोलामा शव फेला

झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। मृतकका आफन्तले घटनास्थलम आएर सनाखत गरेपछि पहिचान खुलेको उनले बताए ।

रतुवाखोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।