संसदभित्र प्रहरी मृत फेला : प्रेमिकाले वास्ता गर्न छाडेपछि अजितले आफैंलाई गोली हाने

संसदभित्र प्रहरी मृत फेला : प्रेमिकाले वास्ता गर्न छाडेपछि अजितले आफैंलाई गोली हाने

काठमाडौं ।

नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।

प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँग जोडिएको पाइएको प्रहरी स्रोतले जानकारी दियो ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, उनले भने ।

अविवाहित गोलेले इन्गेटमेन्ट (टिकाटालो) भने गरिसकेका थिए । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए । इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि उनकी प्रेमिका दुबईमा छिन् ।

तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि हुने ती अनुसन्धान अधिकृतले बताए । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।