ट्यांकर चालककाे आन्दोलन स्थगित, आजबाटै डिजेल, पेट्रोल ढुवानी सुरु गर्ने

ट्यांकर चालककाे आन्दोलन स्थगित, आजबाटै डिजेल, पेट्रोल ढुवानी सुरु गर्ने

काठमाडौं ।

विभिन्न माग अघि सारेर आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो ।

चालकले सोबारबाटै डिजेल, पेट्रोल ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी चण्डिका भट्टले बताए । ‘ढुवानी सुरु गर्नासाथ बजारमा देखिएको अभाव हट्छ,’ भट्टले भने। दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो।

सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो। थोरै पेट्रोल, डिजेल लोड भएकाले अभाव भएको नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोट काठमाडौंका प्रमुख अशोक शाहले बताए । ट्यांकर चालकले चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने, चालक तथा सहचालकको प्रत्येक तीन महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिम व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका छन् । ३२ गते कालेपट्टी बाँधेर विरोध जनाएका चालकले एक गते कालो झण्डा राखेर विरोध जनाएका थिए ।