नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू: मेयर बालेन

नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू: मेयर बालेन

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर सभा बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) को धङधङी बोकेर नआउन चेतावनी दिएका छन्।

कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्।

काठमाडौं महागरपालिकाको आइतबार नगर सभा बैठक थियो।

बैठक सुरू हुनपूर्व वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, ३२ का अध्यक्ष नवराज पराजुली र १७ का अध्यक्ष नवीन मानन्धर अलग्गै छलफल गरेका थिए।

डंगोल एकीकृत समाजवादीका नगर सभा दलका नेता हुन् भने पराजुली एमालेका र मानन्धर कांग्रेसका हुन्।

बैठक सुरू गर्न लागेपछि कर्मचारीहरू तीन वडाध्यक्ष खोज्दै आएको र अलग्गै छलफल गरिरहेको थाहा पाएपछि मेयर बालेनले बैठक नगर सभा स्थगित गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले बताए।

यता मेयर बालेनले भने तीन जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन्।

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन् । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौ,’ मेयर बालेनले भनेका छन्।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने उनको भनाइ छ।

‘१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन,’ उनको तर्क छ।

मेयर बालेनले काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि भनेका छन्। नगर सभा बैठक असार १० गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।