गोली हानि क्याम्पस प्रमुखको हत्या, दुई शंकास्पद व्यक्ति पक्राउ

गोली हानि क्याम्पस प्रमुखको हत्या, दुई शंकास्पद व्यक्ति पक्राउ

बारा ।

बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सुरेश काफ्लेले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, जग्गा कारोबार सम्बन्धी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । गोली प्रहारमा संलग्नहरु मृतकको चिनजानकै व्यक्ति हुनसक्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

संलग्नहरुको लगभग पहिचान भइसकेको जनाउँदै कुशवाह हत्या प्रकरणमा चाँडै नतिजा आउने एक अनुसन्धान अधिकृतले दाबी गरे ।