काठमाडौँ ।
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका थोरै स्थानहरुमा, बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तै,
काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।
महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए ।
Comment