कुवेत आगलागी : ४२ भारतीय नागरिकसहित ४९ जनाको मृत्यु, ३ नेपाली घाइते भएको पुष्टि

कुवेत आगलागी : ४२ भारतीय नागरिकसहित ४९ जनाको मृत्यु, ३ नेपाली घाइते भएको पुष्टि

काठमाडौं ।

कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् ।

द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन् । मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।

भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जान लागेका छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ ।

आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

कुवेतका मिडियाहरुका अनुसार ६ तले भवनमा बुधबार बिहान स्थानीय समय अनुसार ६ बजे आगलागी भएको थियो । सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो । त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो । यद्यपि सो भवनको क्षमता भने त्योभन्दा कम रहेको बताइएको छ ।

सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ ।

आगलागीको कारण खुलेको छैन । कुवेत सरकारले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ ।

यता,

आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते भएका छन्। आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

पाँच जनामध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ।  आगलागीमा घाइते भएका नेपाली श्रमिकको अवस्थाबारे श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।