अरुण तेस्रो जलविद्युतको क्याम्प पहिरोले पुर्दा एक मजदुरको मृत्यु, २ जना घाइते

अरुण तेस्रो जलविद्युतको क्याम्प पहिरोले पुर्दा एक मजदुरको मृत्यु, २ जना घाइते

खाँदबारी ।

संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

उनका अनुसार अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो ।

कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।