सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, १० जना घाइते

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं ।

कपिलवस्तुमा बस र पिकअप गाडी एकआपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका–४ झडुलामाई मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु वाहक बस र पिकअप गाडी ठोकिंदा एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ५: १५ बजेतिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र.०२–००१ ख ०५२५ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप आपसमा ठोकिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

उनका अनुसार ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

यता,

गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

मंगलबार राति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा सन्धिखर्क-८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका-२ बस्ने २९ वर्षीय नविन घिमिरे घाइते भएका छन्। घाइतेमध्ये रिसभको अवस्था गम्भीर रहेको र  दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ।