फलामे साङ्लोले बाँधिएका संजिवको सिन्धुली प्रहरीले गर्यो उद्धार

फलामे साङ्लोले बाँधिएका संजिवको सिन्धुली प्रहरीले गर्यो उद्धार

सिन्धुली ।

तीनपाटन गाउँपालिका–३ सिपालीका संजिव घलानलाई उद्धार गरिएको छ । चार वर्ष अघिदेखि फलामे साङ्लोमा बाँधेर घरैमा राखेका घलानलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले उद्धार गरेको हो ।

बहुअपाङगता (बोलाई र मानसिक तथा बौद्धिक अपाङ्गता सम्बन्धि समस्या) भएका ९ वर्षीय घलान आफ्नै घरमा असुरक्षित सँगै कष्टकर जीवन ज्यूँन बाध्य थिए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख, प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेकाअनुसार सिपालीमा एक बालकलाई चार वर्षदेखि फलामे साङ्लोले बाँधेर राखिएको र आफ्नै घरमा असुरक्षासँगै कष्टकर जीवन ज्यून बाध्य रहेको स्थानीयबासीले दिएको गोप्य सूचना तथा सञ्चार माध्यमबाट प्राप्त जानकारीका आधारमा आवश्यक अनुसन्धान गर्न प्रहरी खटाईएको थियो । त्यस क्रममा बालकको उद्धार गर्न आवश्यक देखिएकोले आवश्यक प्रक्रिया पुरा गरि शनिबार बाल अधिकार संरक्षण केन्द्र, सिन्धुलीमा ल्याइएको छ ।

कमलामाई नगरपालिका–४ मा रहेको उक्त केन्द्रमा क्षेत्रीय संयोजक अनिल गुराँगाईँ, वडाध्यक्ष महेन्द्र कुमार ढकाल र स्थानीय पत्रकारको रोहबरमा जिम्मा लगाइएको उनले बताए । उनले भने, ‘आफ्नै घरमा फलामे साङ्लोमा बाँधिएर अतिकष्टकर जीवन गुर्जान बाध्य बालकको हित र सुरक्षाको लागि बाल अधिकार संरक्षण केन्द्रमा पुर्याएका हौँ ।’

बाल अधिकार संरक्षण केन्द्र, सिन्धुलीका क्षेत्रीय संयोजक गुराँगाईले तत्कालिन अवस्थामा प्रहरीले गरेको सिफारिसका आधारमा बालकको पालनपोषण र उपचार संरक्षण गर्ने बताए । स्वास्थ्य अवस्थामा सुधार आएपछि आवश्यकताअनुसारको सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

संरक्षण केन्दले सहयोगापेक्षी बेसहारा, अभिभावकविहीन लगायत सडक आश्रित बालबालिकाको उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण तथा उनिहरुको दिगो व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

आर्थिक अभावका कारण दैनीक ज्याला–मजदुरी गरेर दैनिकी विताउँदै आएका घलानको परिवारले आर्थिक अभावका कारण उपचार गर्न सम्बन्धित स्वास्थ्य संस्थामा लैजान सकेका थिएन् ।

संजिवका बुबा तेजबहादुरले धामीझाँक्री लगाउँदा ठीक नभएको र राम्रो अस्पतालमा उपचार गराउन आर्थिक समस्या परेको बताए । दैनिक ज्याला, मजदुरी गरेर जसोतसो जीवीका चलाउँदै आएका उनले घरमा छोडेर आफू ज्याला, मजदुरीमा जाँदा घर छाडेर हिँड्ने, हराउने, बाटोमा जे भेट्यो त्यही खाने गर्न थालेपछि बाँधेर राख्नुको विकल्प नभएको दुखेसो गरे ।

सञ्जीवलाई जन्म दिने आमाले छाडेर हिँडेपछि बुबा तेजबहादुरले दोस्रा विवाह गरेका थिए । उनको कान्छी पत्नीतर्फबाट एक जना छोरा र तीन जना छोरी छन् ।