लुम्बिनी विकास कोषको चरम लापरबाही : फोहोरमा फालिएका छन् ऐतिहासिक मूर्ति !

लुम्बिनी विकास कोषको चरम लापरबाही : फोहोरमा फालिएका छन् ऐतिहासिक मूर्ति !

लुम्बिनी

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका पुरातात्विक महत्वका मूर्तिहरू उपेक्षित अवस्थामा भेटिएका छन् । ती मूर्तिहरू लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्वका प्रमाण हुन्, जसले यस क्षेत्रको धार्मिक धरोहरको झल्को दिन्छ । लुम्बिनी बचाउ महाअभियानले खोजी गर्ने क्रममा ती ऐतिहासिक मूर्तिहरू संग्रहालयभित्र उपेक्षित अवस्थामा भेटिएका हुन् ।

सूचनाको हक तथा लुम्बिनी बचाउ महाअभियानका अभियानकर्ता रामविकास चौधरीले उत्खननपूर्वको मायादेवी मन्दिरभित्रका मूर्तिहरूबारे चासो राख्दै लिखित सूचना माग गरेपछि लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेती र महाअभियानको टोलीले अध्ययन थालेको कोषले जनाएको छ ।

‘सरोकारवाला निकायको लापरबाहीले पुरातात्विक महत्वका मूर्तिहरूमा क्षति पुग्न सक्ने खतरा छ,’ अभियानकर्ता चौधरीले भने, ‘मूर्तिहरू दुरवस्थामा छन् । केही टुटेफुटेका छन् भने धेरै मूर्ति अझै फेला परेका छैनन् ।’ उचित संरक्षण अभावमा धार्मिक महत्वका ती मूर्तिहरूको मौलिक स्वरूप बिग्रिँदै गएको चौधरीले बताए ।

उनका अनुसार धातुको चाँदवी बुद्ध मूर्ति (मणिहर्ष ज्योति किनारामा लेखिएको), गणेशको धातुको मूर्ति (२५ सेमी) र दुर्गा भगवतीको मूर्ति (२५सेमी) अझै फेला परेका छैनन् । बाराही (तारा) देवीको मूर्ति २ टुक्रा पारिएको अवस्थामा भेटिएको छ । बुद्ध जनमांकृत मुख्य मूर्तिबाट माथिल्लो भागको दाहिनेतर्फ देवताहरूले पुष्पवृष्टि गरेको दृश्य हटाइएको उनले बताए । दुवै हात भाँचिएको कमलासनमा उभिएको मार्बलको बुद्धमूर्ति (४९ सेमी लम्बाइको) भूँइमा लडेको अवस्थामा भेटिएको छ ।

लुम्बिनीको संग्रहालयस्थित स्टोरमा धुलाम्मे अवस्थामा फालिएका र हराइरहेका धार्मिक तथा पुरातात्विक महत्वका ती मूर्तिहरू लुम्बिनीमै पुनर्स्थापित हुनुपर्नेमा चौधरीको जोड छ । उनले भने, ‘ती बहुमूल्य मूर्तिहरू लुम्बिनीका धरोहर र धार्मिक आस्थाका प्रतीक हुन् । लुम्बिनीमै त्यसको उचित पुनर्स्थापन गरी संसारसामु चिनाउन जरुरी छ ।’

लुम्बिनी विकास कोष र अन्य सम्बन्धित निकायको लापरबाहीले ती प्राचीन मूर्तिहरूको संरक्षण कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले बताए । उनले भने, ‘मायादेवी मन्दिरभित्र धार्मिक धरोहरका रूपमा रहेका ऐतिहाहिक ती मूर्तिहरू केही तोडिएका र केही चोरिएका छन् ।’

‘सरोकारवालालाई मूर्तिको महत्वबारे जानकारी र सजगता नहुनु पनि उपेक्षाको एक कारण हो,’ ती मूर्तिहरूको संरक्षण र प्रवर्द्धनका लागि व्यवस्थित योजना जरुरी रहेको भन्दै लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले भने, ‘त्यसको नियमित अनुगमन, मर्मत–सम्भार र सुरक्षाका उपायहरू समावेश गरिनुपर्छ ।’ स्थानीय सहयोग र साझेदारीमा लुम्बिनीको संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन सकिनेमा उनले जोड दिए ।

‘लुम्बिनीका धार्मिक तथा पुरातात्विक महत्वका मूर्तिहरू नेपालको सांस्कृतिक धरोहरका अभिन्न अंग हुन् । यिनको उचित संरक्षण गर्न नसक्ने हो भने भविष्यमा अमूल्य सम्पदा गुम्ने खतरा हुन्छ,’ लुम्बिनी विकास कोष, पुरातत्व महाशाखाका प्रमुख हिमाल उप्रेतीले भने, ‘सम्पदा जोगाउन सबै पक्ष मिलेर तत्परता देखाउनु जरुरी छ ।’

लुम्बिनी विकास कोषले समस्या समाधान गर्न प्रयासरत रहेको बताएको छ । कोषका कोषाध्यक्ष शिद्धिचरण भट्टराईले भने, ‘मूर्ति व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न हामी प्रयास गरिरहेका छौँ । त्यसमा केही अवरोध छन् । तर, हामी ती सबैलाई समाधान गर्दै मूर्तिको उचित व्यवस्थापन गर्ने प्रतिबद्धतामा छौँ ।’