तामझाम गरेर वृक्षरोपण, हुर्काइदिने कसले ?

तामझाम गरेर वृक्षरोपण, हुर्काइदिने कसले ?

  • निरोज कोइराला

नेपालमा पछिल्लो समय हरेक कार्यक्रम तथा दिवसमा तामझामका साथमा वृक्षरोपणका कार्यक्रम गर्ने गरिन्छ । भाषणसहित यति बिरुवा रोपिए, यी जातका रोपिए भन्दै प्रचार पनि गरिन्छ । तर, वृक्षरोपण गर्नुभन्दा पनि महत्वपूर्ण कुराचाहिँ रोपिएका वृक्षहरूलाई जोगाउनु, हुर्काउनु र संरक्षण गर्नु हो ।

भविष्यका सन्ततिका लागि वातावरण संरक्षण भन्दै रोपिएका बिरुवामा रोपेको भोलिपल्टदेखि कसैको आँखा पर्दैन, संरक्षण र गोडमेल पनि हुँदैन । खाली, पर्ती र निजी जमिनमा वृक्षरोपणको नाममा बर्सेनि वन कार्यालयहरूले विभिन्न जातका बिरुवा बाँडिरहेका हुन्छन् । प्रत्येक वर्ष सरकारी तथा गैरसरकारी संघसंस्था र निकायलाई खाली जमिनमा बिरुवा लगाउने चटारो हुन्छ । वृक्षरोपण कार्यक्रमलाई कतिपय निकायहरूले आफ्नो वार्षिक कार्यक्रममा समेत समावेश गरेका हुन्छन् ।

तर, रोपिएका बिरुवाहरूको संरक्षण, गोडमेल र पानी हाल्ने कुरा कसैको पनि कार्यक्रमभित्र पर्दैन । जिल्ला–जिल्लामा वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले बिरुवा वितरण गर्छ । बिरुवा बाँडेको रेकर्ड राखेको वनले रोपिएका बिरुवा कति जागे, कति संरक्षण भए, कुनै यकिन तथ्यांक दिन सक्दैन । एउटै जग्गामा पटक–पटक वृक्षरोपण गरिन्छ । यस वर्ष कुनै दिवसको अवसरमा रोपिएका बिरुवा जाग्दैनन, फेरि अर्को वर्ष त्यही स्थानमा फेरि वृक्षरोपणको कार्यक्रम राखिन्छ ।

बिरुवा रोपेर मात्र हुँदैन, त्यसको संरक्षणमा पनि जुट्न सकिएन पनि वृक्षरोपणको कुनै औचित्य देखिँदैन । जलवायु परिवर्तन र वन विनाशका कारण पछिल्लो समयमा देखिने गरेका समस्या तथा असरहरू रोक्न बोटबिरुवाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । वृक्षरोपण गर्नु राम्रो कार्य भए पनि संरक्षणबिनाको वृक्षरोपण औपचारिकतामै सीमित हुन्छ । बिरुवा लगाउने आयोजक संस्थाहरूले कहिल्यै पनि रोपिएका बिरुवाहरूको अवस्था बुझ्ने गरेका छैनन् । आज यो दिवस हो, फलानो डाँडामा वा ठाउँमा वृक्षरोपण छ भन्ने, गएर रोप्ने, त्यसपछिको अवस्था नहेर्ने, यो प्रवृत्ति रोक्न जरुरी छ ।

अर्को कुरा– वृक्षरोपण गर्दा कुन स्थानमा कुन बिरुवा उपयुक्त हुन्छ, सोको पनि यकिन हुन जरुरी छ । जुन पायो त्यही बिरुवा रोप्ने गर्दा कसरी बिरुवा जाग्छ ! आयोजकले वृक्षरोपण कार्यका लागि ठाउँ छनोटसँगै हावापानी, भौगोलिक अवस्था र माटोको गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । त्यसैले वृक्षरोपण गर्नु सबैका लागि उचित कार्य हो, तर रोपेर मात्र हुँदैन, त्यसलाई हुर्काउनुपर्छ, यसतर्फ सवैको ध्यान केन्द्रित होस् । विश्व वातावरण दिवसको शुभकामना !