४ वर्षदेखि फलामे साङ्लोमा बाँधिएका ९ बर्से सञ्जीव

४ वर्षदेखि फलामे साङ्लोमा बाँधिएका ९ बर्से सञ्जीव

सिन्धुली ।

सिन्धुलीका एक बालक ४ वर्षभन्दा लामो समयदेखि साङ्लोले बाँधिएर बस्न बाध्य बनेका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिका–३ सिपालीका सञ्जीव घलानको शारीरिक र मानसिक स्वास्थ्य ठिक नभएका कारण उनलाई परिवारले साङ्लोले बाँधेर राखेको हो ।

९ वर्षका सञ्जीवको उपचार गर्न रकम अभाव हुँदा साङ्लोले बाँधेर काममा जानुपर्ने परिवार बताउँछ । सञ्जीवका बाबु तेजबहादुर भन्छन्, ‘उपचार गराए ठिक हुन्छ भन्छन् जान्नेबुझ्नेहरू । तर, उपचार गराउन पैसा छैन । त्यसकारण उसलाई बाँधेर हामी काममा जाने गरेका छौँ ।’

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने तेजबहादुरको परिवारमा सञ्जीवलाई दिनभर स्याहार गरेर घरमा बस्ने मान्छे छैनन् । घरमा यत्तिकै छाडेर मजदुरीमा जाँदा घर छाडेर हिँड्ने, बाटोमा जे भेट्यो त्यही खाने गर्न थालेपछि बाँधेर राख्नुको विकल्प नभएको तेजबहादुर बताउँछन् ।

२÷३ महिनाअघि सञ्जीवको अवस्था थाहा पाएर समाचार प्रकाशित भएपछि केहीले उनको उद्धार गरेर उपचारमा पठाउने प्रतिबद्धता जनाए पनि हालसम्म उनको उद्धार हुन नसकेको स्थानीय पत्रकार राधिका बुढाथोकी बताउँछिन् ।

अहिले उनको घरमा पुग्दा कहिले सञ्जीवकोे हातमा फलामे साङ्लो बाँधिएको हुन्छ त कहिले खुट्टामा । महिनौँदेखि सफा नगरिएको शरीर, शरीरमा झुत्रो कपडामा साङ्लोमा बाँधिएर बसेका उनी बोल्नसमेत सक्दैनन् । उनलाई कतिबेला के गर्ने भन्ने कुराको हेक्कासमेत हुँदैन । न भोक लाग्दा खान दिने कोही हुन्छ, न दिसापिसाब गराइदिने । बाबुआमा कामबाट फर्किंदा दिसापिसाबको आहालमा डुबिरहेका हुन्छन् उनी ।

सञ्जीवलाई जन्म दिने आमाले छाडेर हिँडेपछि बाबु तेजबहादुरले दोस्रो बिहे गरे । कान्छी पत्नीतर्फबाट तेजबहादुरका १ छोरा र ३ छोरी छन् । परिवार बढेपछि तेजबहादुरलाई झन् बोझ थपियो । अस्वस्थ छोराका उपचार गराउने उनको कल्पनाभन्दा बाहिरको कुरा भयो । परिवारलाई साँझ के खुवाउने भन्ने चिन्ताले छोप्ने गरेको तेजबहादुर बताउँछन् । ‘बिरामी छ । यत्तिकै छाड्यो भने जताततै हिँड्छ, जे भेट्यो त्यही खान्छ । त्यसैले यसरी बाँधेर काममा जान बाध्य छौँ,’ उनी भन्छन्, ‘दिउँसो घरमा भएका बेला खानेकुरा मागिरहन्छ । तर, सधैँ घरमा बसेर पनि उपाय छैन । उसलाई स्याहार गरेर बसे भरे के खाने भन्ने हुन्छ ।’

गाउँमा सञ्जीवका उमेरका अरू बालबालिका दिउँसो स्कुल जान्छन्, साँझबिहान भेला भएर खेल्छन्, रमाउँछन् । तर, सञ्जीव भने यति सानै उमेरमा घरभित्रै कैदी बनेका छन् । यहाँसम्म कि उनलाई थाहा पनि छैन कि म किन यसरी बाँधिएको छु भन्ने कुरा । उनलाई यसरी नै कष्टपूर्ण बाँच्नुपर्ने बाध्यता छ ।

‘निको हुन्छ कि भनेर धामीझाँक्री लगायौँ । देउताले बोली रोक्यो भनेर दक्षिणकाली दर्शन गराउँदा पनि बोली फुटेन,’ उनी भन्छन्, ‘अब त झन् स्याहार पनि पुगेन । झन् रोगी बन्दै गएको छ ।’
दिनभर फलामे साङ्लोले बाँधेर राखिएका सञ्जीवकोे अत्यन्त पीडादायी दृश्य देख्दै आएको स्थानीयबासी अनिल दाहाल बताउँछन् । उनी भन्छन्, ‘यी बालकको बेस्याहार भएको छ । राम्रो उपचार पाए ठिक हुन सक्छन् । यो नारकीय अवस्थाबाट उद्धार गर्नु आवश्यक छ ।’

वडाध्यक्ष लालबहादुर स्याङ्तानले उपचार पाए सञ्जीव निको हुने विश्वास लिएको बताउँदै उनको उद्धारमा पहल गरिरहेको बताउँछन् । ‘उद्धार गरेर उपचार गराउन पाए निको हुने थिए । हामी पनि यसको प्रयासमै छौँ । तर, कसरी उद्धार र उपचार गराउने भन्ने अलमल छ,’ उनी भन्छन् । बालकको उद्धार गरी उपचारको प्रबन्ध गर्न उनले सरकार र गैरसरकारी संस्थाहरूलाई अपिलसमेत गरेका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले बालकको अवस्था थाहा पाएपछि उद्धार उपचारको विकल्प खोजिरहेको बताएका छन् । ‘मैले बालकको पीडादायी अवस्थाबारे थाहा पाएँ । उनको उद्धार र उपचारमा हामी सबै मिलेर पहल गर्नुपर्छ । यस विषयमा म गम्भीर छु । यस्तै, सिन्धुली कार्यक्षेत्र बनाएर काम गरिरहेका केही गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पनि उनको उद्धारमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।