‘करकाे दायरा फराकिलाे बनाउनेभन्दा कर असुलीमा केन्द्रित बजेट आयाे’

‘करकाे दायरा फराकिलाे बनाउनेभन्दा कर असुलीमा केन्द्रित बजेट आयाे’

लुम्बिनी ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमा कुनै प्रकारको उत्साह नभएको आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको बजेट छलफलमा विज्ञहरूले प्रशासनिक खर्च धेरै र पुँजीगत खर्च कम रहेको र राजस्व संकलनको लक्ष्य बराबर प्रशासनिक खर्च भएकाले विकासका कार्यक्रमहरू प्रभावित हुने प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा बोल्दै एक्यान लुम्बिनी प्रदेश अध्यक्ष सिए छवि पोखरेलले भने, ‘बजेट आउने नियमित प्रक्रिया हो, बजेट आयो भन्ने कुराले भन्दा पनि बजेटमा के कस्ता कुराहरू समावेश गरिएका छन्, त्यसको व्यवस्थापकीय पक्षलाई महत्वका साथ हेरिन्छ ।’ उनले अहिले सरकारले ल्याएको बजेट उत्साहजनक नभएको बताए । बजेट कर असुली गर्नेमा बढी केन्द्रित रहेको बताउँदै उनले करको दायरा फराकिलो बनाउनुपर्नेमा त्यसतर्फ कुनै ध्यान नदिइएको बताए ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको ठुलो हिस्सा प्रशासनिक खर्चमा र पुँजीगत खर्च ज्यादै न्यून भएकाे भन्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले निजी क्षेत्रलाई चलायमान बनाउने कार्यक्रम नआएको बताए । उनले राजस्व संकलन लक्ष्य हाराहारीको प्रशासनिक खर्च र बजेट भाषणमा उल्लेख भएर पनि कार्यान्वयन नहुने पुरानो चलन कै स्थापित मान्यताका कारण आएका कार्यक्रम कार्यान्वनमा शंका व्यक्त गरे।

त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवलका संयोजक सिए शिवहरि शर्माले पनि बजेट त्यति आसलाग्दो नभएको प्रतिक्रिया दिए । उनले राजस्व संकलनको अवस्थाले विकासको कामलाई प्रत्यक्ष प्रभाव पार्ने बजेट आएको बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीका अध्यक्ष सिए कमल ज्ञवालीले कर प्रणालीमा आएको परिवर्तन र त्यसले पार्ने प्रभावका बारेमा जानकारी गराउनको लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

कार्यक्रममा अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेलले पनि बजेट खासै उत्साहजनक नभएको बताए । रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले प्रशासनिक खर्च बढी भएको र राजस्व असुलीको अवस्था कमजोर हुँदा निनियोजित बजेटमा आशंका व्यक्त गरे ।

कार्यक्रममा एक्यान रुपन्देहीका उपाध्यक्ष सिए महेश घिमिरे, सदस्य सिए अच्युत पाण्डेलगायतले बजेट सुन्दा राम्रै लागे पनि त्यसको गहिरो अध्ययनले उत्साहजनक नदेखिएको बताए । त्यस अवसरमा एक्यान रुपन्देहीका सचिव सगुण खनालले बजेटमा आएका नयाँ प्रावधान, त्यसका सबल तथा दुर्बल पक्षका बारेमा विश्लेषण गरेका थिए ।