कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु

कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु

धनगढी ।
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।

बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।

उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ । उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीले यहाँको जनजीवन कष्टकर बनेको छ । गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो ।