बुद्धकाे मावली देवदहको खयरडाँडामा उत्खनन सुरु

बुद्धकाे मावली देवदहको खयरडाँडामा उत्खनन सुरु

नगर प्रमुख खरेल र कोषाध्यक्ष भट्टराईले गरे शुभारम्भ

नगर प्रमुख खरेल र कोषाध्यक्ष भट्टराईले गरे शुभारम्भ

लुम्बिनी ।

बुद्धकाे मावली भएकाे आशंकामा रूपन्देहीको देवदहस्थित खयरडाँडा क्षेत्रमा पुरातात्विक उत्खनन सुरु भएको छ ।

देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष पुरातत्व विभागको प्राविधिक सहयोगमा महामानव बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गर्दै देवदह नगरपालिका–९ स्थित खयरडाँडामा क्षेत्रमा आज बुधबारदेखि पुरातात्विक उत्खनन सुरु भएको हो ।

देवदह नगरपालिका नगर प्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रूपमा कुटोले भुइँ खनेर उत्खनन सुरु गरेका हुन् । पुरातात्विक स्थलहरूको उत्खनन र अन्वेषण हुन नसकेका बेला देवदह नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएर उत्खनन थालिएको छ ।

उत्खनन शुभारम्भ कार्यक्रममा नगर प्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए । उनले उत्खननका लागि आगामी वर्षमा पनि बजेट छुट्याएर यसैगरी काम गर्ने बताए ।

नगर प्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विक स्थलहरूको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि सरोकारवाला सबैलाइ पहल गर्न आग्रह गरे ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्विक स्थलको उत्खनन तथा अन्वेषण कार्यका लागि साझेदारी गर्ने देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरूमा उत्खनन हुँदा यसले पुरातात्विक सम्पदाको संरक्षण गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने बताए ।

कोषाध्यक्ष भट्टराईले देवदहको खोजीका लागि रूपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि नै उत्खनन कार्यलाई प्राथमिकतामा राखेको बताए ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खननमा खटिएको छ । पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् । उत्खनन आगामी १ महिनासम्म चल्नेछ ।