नदीमा पौडी खेल्न गएका युवा बेपत्ता

नदीमा पौडी खेल्न गएका युवा बेपत्ता

कालीकोट ।

तिला नदीमा पौडी खेल्न कालीकोटका गएका एक युवा बेपत्ता भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय युवा मङ्गलबार बेपत्ता भएका हुन्।

तिलागुफा नगरपालिका वडा नं ७ घर भइ हाल वडा नं ६ को गाल्जे बजारमा होटेल व्यवसाय गरी बस्ने रुपकौडा बमका छोरा हिक्मत बम बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी गाल्जेका अनुसार मङ्गलबार दिउँसो २:३० बजे तिला नदीमा नुहाउन गएका बम डुबेर बेपत्ता भएको परिवारका सदस्यले खबर गरेको जनाएको छ।

जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोली घटनास्थल गएर खोजी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली र नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा सात जना गरी थप १४ जनाको टोली खोजतलासका लागि घटनास्थलमा खटाइएको छ।