रोहिणीको प्रशासकीय अधिकृतमा राकेश

रोहिणीको प्रशासकीय अधिकृतमा राकेश

प्रभावकारी सेवा प्रवाह गर्न अध्यक्षको निर्देशन

प्रभावकारी सेवा प्रवाह गर्न अध्यक्षको निर्देशन

मर्चवार ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राकेशकुमार चौधरीले पदभार ग्रहण गरेका छन् । सम्मरीमाई गाउँपालिकाबाट सरूवा भई रोहिणी पुगेका चौधरीले विशेष समारोहबीच पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष विद्याप्रसाद यादवले रोहिणी गाउँपालिकाको ऐतिहासिक महत्व र सम्भावनाबारे प्रकाश पार्दै गाउँपालिकाको विकास गर्नु सबैको लक्ष्य रहेको बताए । उनले नागरिकलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्न तथा कार्यालयको कामलाई व्यवस्थित गर्न उपस्थित कर्मचारी/पदाधिकारीलाई समेत निर्देशन गरे ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफ्नो नयाँ भूमिकाप्रति उत्साह व्यक्त गर्दै ‘आफू यस्तै गाउँठाउँमा हुर्के बढेकाले नयाँ ठाउँमा आए जस्तो नलागेको बताए ।

उनले भने, ‘म यहाँ केही महत्वपूर्ण काम गर्न सक्छु जस्तो लाग्छ । मेरा सिर्जनात्मक काममा तपाईँहरू सबैको साथ र सहयोग हुनेछ भन्ने आशा र विश्वास लिएको छु । म यसअघिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको सिर्जनात्मक विकासका कार्यलाई अगाडि बढाउन हरसम्भव प्रयासरत रहनेछु ।’

उपाध्यक्ष शिवकान्ति हरिजनले गाउँपालिकाको समृद्धि तथा विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक रहेकामा जोड दिइन् । प्रवक्ता तथा वडा- ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चौधरीको नियुक्तिमा खुसी व्यक्त गर्दै अधुरा आयोजनाहरू पूरा गर्नुपर्नेमा जोड दिए ।

शिक्षा शाखाका प्रमुख मधुप्रसाद घिमिरेले चौधरीको सुखद र सफल कार्यकालको कामना गरे । उनले रोकिएका योजनाहरू पूरा गर्नुपर्नेमा जोड दिँदै गाउँलेका लागि अविस्मरणीय कुरा हासिल गर्नेमा विश्वास व्यक्त गरे ।

चौधरीलाई गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता वीरबहादुर क्षेत्री, शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरे, कार्यपालिका सदस्य, वडाध्यक्ष, इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेलगायत सहभागीले स्वागत गरेका थिए ।

चौधरीको स्वागत समारोहमा वडा सदस्यहरू, कर्मचारीहरू र स्थानीयबासी समेतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले गरेका थिए ।