शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

लुम्बिनी ।
मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कंदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार लगिएको छ ।
सिद्वार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै शुक्रबार बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भवीश्वर घिमिरेलाई शिशु बुद्व (बोधिसत्व सिद्धार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कंदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । राजा शुद्धोधन र मायादेवीको स्वरूपलाई बग्गीमा चढाएर तिलौराकोट लगिएको हो ।


बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ ।
कोषले २५६७ औँ बुद्ध जयन्तीको अवसरमा शिशु बुद्धलाई बाजागाजासहित २६ किमीको भव्य शोभायात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने कोसिस गरिएको परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए ।
बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइती देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैंचा (चित्तवन) लुम्बिनी पुगेपछि डोलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो ।


सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए । सिंगो कपिलवस्तुमा कैयौँ दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो ।
भगवान शाक्यमुनि बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रूपमा मनाउँदै आएको छ ।