दिवा खाजामा कोदोको दुनोट, केक, पिज्जा

दिवा खाजामा कोदोको दुनोट, केक, पिज्जा

म्याग्दी ।

म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ। स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो।

चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका विद्यालयले जनाएका छन्।

स्थानीय तहहरूले अभिभावक र चमेनागृह सञ्चालकलाई आयात गरिएको तयारी पत्रुखाना ‘जंकफुड’को विकल्पमा रैथाने बालीका खाद्यान्नबाट परिकार बनाउने तालिम दिएका छन्। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले विद्यालयमा ‘जंकफुड’ निषेध गर्नका लागि १, २, ३ र ६ नम्बर वडाका अभिभावकलाई रैथाने बालीबाट खाजाको परिकार बनाउने सीप सिकाएको जानकारी दिए।

‘अभिभावक र विद्यालयको चमेनागृहका सञ्चालकलाई पोषणयुक्त खाजा बनाउने ज्ञान र सीप सिकाउन बाँकी चारवटा वडामा पनि तालिम चलाउने तयारीमा छौँ,’ उनले भने, ‘आयातित अस्वस्थकर जंकफुडको विकल्पमा रैथाने खाद्यवस्तुबाट परिकारको प्रयोगमा जोड दिएका छौँ।’

बेनी नगरपालिकाको कृषि शाखाले विद्यालयका २० जना चमेनागृह सञ्चालकलाई गत हप्ता रैथाने बालीका परिकार बनाउने तालिम प्रदान गरेको छ। कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सीलगायतका रैथाने बालीबाट खाजाका परिकार बनाउने सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गरिएको बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताइन्।

जंकफुड प्याकिङ गर्ने प्लास्टिकले विद्यालयपरिसर फोहाेर र विद्यार्थीको स्वास्थ्यमा असर परेको छ। धौलागिरि गाउँपालिका– ३ मा रहेको धौलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरकफरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेको बताए।

‘अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिका नै बनाएका छौँ,’ उनले भने, ‘खर्चको पनि बचत भएको छ।’ सरकारले प्रतिविद्यार्थी रु. १५ का दरले दिवा खाजाका लागि अनुदान दिने गरेको छ। बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालयपरिसरको खाली जमिनमा तरकारी खेती गरेको प्रअ रामप्रसाद शर्माले बताए।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले अस्वस्थकर परिकारको प्रयोग घटाउन र रैथाने बालीका खाद्यान्न परिकारमा जोड दिएको बताइन्। विद्यालयलाई ‘जंकफुड’ निषेधित क्षेत्र बनाउने तयारी गरेको उनले बताइन्।