महादेवटारका मानबहादुरकाे शव पसलमा र श्रीमतीको शव भान्सामा फेला

महादेवटारका मानबहादुरकाे शव पसलमा र श्रीमतीको शव भान्सामा फेला

काठमाडौं ।

काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ ।

महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति नै उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार दिउँसो स्थानीय ठाकुर पूजामा सहाभागी नभएपछि घरमा गएर उनीहरु दुबै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।