लुम्बिनीमा बुद्ध जयन्तीको भव्य तयारी

लुम्बिनीमा बुद्ध जयन्तीको भव्य तयारी

लुम्बिनी ।

लुम्बिनी विकास कोषले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस ३ दिने विविध कार्यक्रमसहित मनाउने भएको छ ।

कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि ३ दिन विविध कार्यक्रम गरी मनाउने जनाएको हो । बजेटको सुनिचिश्तता नहुँदा बुद्ध जयन्तीको तयारीमा ढिलाइ भए पनि अब भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरिएको कोषले जनाएको छ ।

जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस’ विशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए । उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवद्र्धमा सम्पूर्ण सञ्चारकर्मीलाई सहयोग गर्न आग्रहसमेत गरे ।

उपाध्यक्ष डा. लामाले यो वर्ष बजेटको सुनिचिश्चता नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए ।

मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरूसहित उच्चस्तरीय पदाधिकारी, कूुटनीतिक नियोग, विदेशी पाहुनाकोसमेत सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।

बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ । मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु–भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुनेछ ।

लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए । बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तुधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्ध जयन्तीमा कोष र स्थानीय तहहरूले सहकार्य गरेको जनाइएको छ ।

कोषले भगवान बुुद्धको महत्व दर्शाउन देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीलाई बुद्ध जयन्तीका अवसरमा दीप प्रज्ज्वलन गर्न अपिल गरेको छ ।

पत्रकार सम्मेलनअघि लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी प्रेस क्लबले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटक प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्तम गरेको थियो । उक्त अवसरमा कोषका उपाध्यक्ष डा. लामा, कोषाध्यक्ष भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईलगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवद्र्धनमा आफूहरू पत्रकारहरूसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए ।

यस्तै, कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, कोषका प्रेस कन्सल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर पोखरेलले मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्यहरू राजेश शाक्य, श्याम रोक्का, सूचना अधिकारी राजन बस्नेत, नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासीका अध्यक्ष तथा प्रतिनिधि एवं तीनै जिल्लाका पत्रकारहरूको सहभागिता थियो ।