काठमाडौँमा हावाहुरीसहित वर्षा,यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँमा हावाहुरीसहित वर्षा,यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ ।

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”

उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई/तीन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज बागमती, कोशी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।