मधेसमै छ पहाड बिर्साउने चिसाे, प्रचाप्रसार नहुँदा ओझेलमा चनाैटे

मधेसमै छ पहाड बिर्साउने चिसाे, प्रचाप्रसार नहुँदा ओझेलमा चनाैटे

विशाल बस्नेत
बर्दिबास

गर्मी छल्ने लेकाली चिसो मधेसमा नै पाइन्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडामा पुगेपछि पाइने विशिष्ट चिसो मौसमले यसलाई पुष्टि गर्छ ।

यो खबर थाहा पाएपछि मधेस र नजिकै सिमाना जोडिएकाे भारतको बिहारका मानिसहरूको गर्मी छल्ने सबैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्लाभन्दा यही ठाउँ सर्वाधिक रोजाइसमेत बन्न सक्छ ।

बिहारका जिल्लाबाट यहाँकाे दुरी करिब ३५ किलोमिटर मात्र छ भने याे क्षेत्र मधेस प्रदेशको मध्यविन्दुमा पर्छ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाइने यो ठाउँ मधेस र बिहारका मानिसका लागि कम खर्चिलोसमेत बन्ने देखिन्छ ।

बर्दिवास नगरपालिकाको खयरमाराबाट ४ किलोमिटर मात्र माथि उक्लेपछि पाइने हावापानी बाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार बनेको छ ।

‘जुनार र सुन्तला पनि यहाँ पाइन्छ । त्यसो हुँदा कति चिसो हावापानी पाइन्छ भन्ने भनिरहनु नै परेन,’ उद्याेग वाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने, ‘यो मधेसको दोस्राे भेडेटार जस्तै बन्न सक्छ ।’

प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सकिने गतिलो आधार भए पनि प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडा अथाह पर्यटकीय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरूले नै प्रमाणित गर्छ ।

‘प्रचुर सम्भावना बाेकेर पनि याे ठाउँ ओझेलमा परिरहेको छ,’ सोही वडाका वडाध्यक्ष गोपाल बलले भने, ‘गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईबासी र नजिकै सिमाना जोडिएको बिहारका मानिसलाई यतै रोक्न सकिन्छ ।’

यतिबेला मधेसमा अत्यधिक गर्मी छ । यहाँका मानिसहरू चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लामा जाने क्रम बढेको छ भने नजिकै सिमाना जोडिएको भारतको बिहार प्रदेशका मानिसहरू गर्मी छल्न केही दिनका लागि भए पनि सिन्धुली, रामेछाप, दोलखा जस्ता जिल्लामा जाने गरेको तथ्यांकले देखाउँछ ।

औपचारिक मापन हुन नसके पनि स्थानीय यो ठाउँ मधेसकै सर्वोच्च चुरे पहाड भएको दाबी गर्छन् । १० बर्से जनयुद्ध हुर्काउन उर्बर भूमिका रूपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पूर्वलडाकूहरूले अहिले पनि निकै श्रद्धाका साथ लिने गर्छन् । यसैकारण यो ठाउँमा सहिद पार्क बनाउने तयारी गरिएकाे थियो । प्रधानमन्त्री प्रचण्ड पुगेर पार्ककाे शिलान्यास गरेका थिए । स्थानीयका अनुसार विकटताका कारण निर्माण सामग्री पुर्‍याउन नसक्दा केही योजना अपुरा नै रहे ।

‘नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जति मनोरम छ, त्यति नै ऐतिहासिक विरासतसमेत बाेकेको छ,’ स्थानीय विष्णु भण्डारीले भने, ‘मधेसको छोटो दुरीमा पाइने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।’

भौगोलिक भूधरातल र फुसका घरहरू भएकाे निकै विकट लाग्ने यो ठाउँबाट पूरै तराई नियाल्न सकिन्छ । समुद्री सतहबाट झन्डै ७०० मिटर उचाइमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्युटावर पनि भन्ने गर्छन् । स्थानीयका अनुसार २ दशक अघिसम्म यहाँ घनाबस्ती थियो । विकटताकै कारण मानिसहरू बसाइँ सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे ।

औलो रोगबाट बच्न खयरमाराका मानिसहरू समेत यही डाँडामा आएर बस्ने गरेको स्थानीय काजीबहादुर कार्की बताउँछन् । यहाँबाट गौरीशंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेसका चुरे शृंखलाकाे स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुलीको गढीसमेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोस्राे गढीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् ।

अचम्मलाग्दो त कहाँनिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरू देखिनु मधेसका लागि सबैभन्दा अनौठो विषय हो । उच्च पहाडी भेगमा पाइने सुन्तला, जुनार पाइनुले पनि यहाँको हावापानीलाई आफैँ प्रमाणित गरेको छ ।

पर्यटकीय गन्तव्यको खोजी अभियानअन्तर्गत बर्दिवास उद्याेग वाणिज्य संघको नेतृत्वमा गत शनिबार यहाँ पुग्दा धेरै मानिसले चनौटे डाँडालाई मधेसको हिमालका रूपमा चित्रण गरे ।

उद्याेग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले चनौटे डाँडा मधेसको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने र यसबारे सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्ने बताए ।

उनले यो उचाइबाट दृश्यावलाेकन गर्न सकिने मधेसका फाँट र चुरे शृङ्खला थप आकर्षण रहेको बताउँदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र प्रवर्द्धनमा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । समितिका अध्यक्ष हिरा गौतमले मधेस र बिहारमा प्रचण्ड गर्मीका कारण चिसोको खोजीमा रहेका आन्तरिक र बाह्य पर्यटकका लागि चनौटे डाँडा महत्वपूर्ण रहेको बताउँदै यसकाे थप प्रचारप्रसार गर्ने बताए ।