सामुदायिक वनमा अवैध रूपले सालका रूख कटानी

सामुदायिक वनमा अवैध रूपले सालका रूख कटानी

कञ्चनपुर ।

कृष्णपुर नगरपालिका–२ वाणीस्थित ग्वालाबारी सामुदायिक वनमा अवैध रूपले सालका रूख कटानी गरेको पाइएको छ ।

सालको सुकेको खडा एक र ढलापडा एक गरी २ रूख बुधबार कटान गरी गोलिया बनाई तस्करी गर्न ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

खडा रुखबाट ११ र ढलापडा रुखबाट ५ गरी १६ थान गोलिया काटेर राखिएको अवस्थामा फेला पारिएको उनले बताए । बरामद काठ ३१५ दशमलव ५० क्युबिक फिट छ । बरामद काठ वाणी सबडिभिजन वन कार्यालयमा राखिएको छ ।

सबडिभिजन वन कार्यालयले काठ तस्करी गर्नका लागि रूख कटानी गर्नेहरूको पहिचान गर्न अनुसन्धान अगाडि बढाएको जनाएको छ । सबडिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ ।

‘काठ कसले काटेको भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘चाँडै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउछौँ ।’ यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैध रूपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए ।