अनलाइन जुवामार्फत् २ अर्बभन्दा बढीकाे काराेबार गर्ने पक्राउ

अनलाइन जुवामार्फत् २ अर्बभन्दा बढीकाे काराेबार गर्ने पक्राउ

काठमाडौँ ।

अनलाइन सट्टेबाजी (वानएक्स बेट) मार्फत २ अर्ब भन्दा बढी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सोमबार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले अनलाइन सट्टेबाजीमा संलग्न काभ्रे मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

ढुंगानाले वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको सोमबार उनलाई सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गराएको छ।

प्रहरीका अनुसार ढुंगानाले विभिन्न समयमा ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गर्ने गरेका थिए।

प्रहरीका अनुसार ढुंगानालले जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आइरहेका थिए। त्यस्तै उनले अवैध क्रिप्टो करेन्सीको कारोबार गरिरहेको समेत प्रहरीको अनुसन्‍धानमा खुल्न आएको छ।

पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।