काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
इन्जिनियर भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सरोजले भ्रष्टाचार गरी भक्तपुर तत्कालीन गुण्डु गाविस वडा नं. ३ स्थित कित्ता नम्बर १३७४ को २ रोपनी ९ आमा एक दाम र कित्ता नम्बर १३७५ को २ आना एक पैसा जग्गा आफ्नो नाममा दर्ता गराएको आरोप छ ।
उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ पठाइदिएको खुलेको थियो। पछि जग्गा खोजिदिने व्यक्तिले समेत जग्गा धनीको बैंक खातामा ३८ लाख ७ हजार २ सय रुपैयाँ पठाइदिएको खुलेको थियो ।
त्यसैले सरोज भट्टराईलाई ८० लाख बिगो कायम गरी कैद सजाय, बिगो बमोजिम जरिवाना र जग्गा जफतको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनकी आमा जनक नन्दनी भट्टराईलाई पनि सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी गरिएको अख्तियारले जनाएको छ ।
Comment