सीतारामकाे हत्यामा संलग्न फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

सीतारामकाे हत्यामा संलग्न फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

निरोज कोइराला
भोजपुर ।

१२ वर्षदेखि फरार रहेका ज्यान मुद्दाका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।

साविक चरम्बी गाउँ विकास समिति ३ (हाल अरुण गाउँपालिका–४) चरम्बी का ३० वर्षीय सौरभ तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

चरम्बीका सीताराम कार्कीको हत्यामा संलग्न रहेका सौरभलाई झापाको काँकडभिट्टाबाट प्रहरीले नियन्त्रणमा लिई भोजपुर ल्याएको प्रहरी निरीक्षक राईले जानकारी दिए । घटनामा संलग्न अन्य २ जना भने फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

चामल चोरीको विषयमा भएको विवादमा २०६८ साल माघ ७ गते आफ्नै घरमा बसिरहेको अवस्थामा सौरभसहित ३ जनाले धारिलो हतियार खुकुरी, लाठी, ढुंगासमेत बोकेर गई सीतारामको टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ ।

घटनापछि जिल्ला अदालत भोजपुरले २०७७ साल फागुन २३ गते घटनामा संलग्न सौरभसहितका प्रतिवादीलाई २० वर्ष कैद सजाय तोकेको थियो । घटनापछि तीनै जना फरार थिए । सौरभ भने तराईका जिल्ला हुँदै भारतमा ५÷६ वर्ष बसेर पुनः झापाको काँकडभिट्टातिर लुकीछिपी बसेको प्रहरी निरीक्षक राईले बताए ।

प्रहरीले खोजी गर्ने क्रममा पक्राउ परेका सौरभलाई जिल्ला अदालतमा पेस गरी जिल्ला कारागार कार्यालयको थुनामा पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राईले बताए ।

अपराधमा संलग्न भई फरार रहेका प्रतिवादीहरुलाई यसअघि पनि पक्राउ गरेर कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले बताए । उनले भने, ‘समाजमा हुने अपराध न्यूनीकरण र फरार प्रतिवादी पक्राउ गर्न प्रहरीले कुनै कसर बाँकी राख्दैन ।’