मसलाका रूखका कारण मरुभूमि बन्दै छ मधेस

मसलाका रूखका कारण मरुभूमि बन्दै छ मधेस

  • विशाल बस्नेत

महोत्तरी

मधेसमा दिनानुदिन पानीको संकट गहिरिँदो छ । भएका मुहानहरू सुक्न थालेका छन् भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरू काम नलाग्ने अवस्थामा पुगेका छन् ।

तर, मधेसमा पानीको अभाव सिर्जना हुनुको कारणमध्ये मसलाको रूखलाई समेत दोष देखाउन थालिएको छ ।

झन्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो प्रजातिको रूखकै कारण मधेस मरुभूमीकरणतर्फ उन्मुख भएको किसानहरूले गुनासो गर्न थालेका हुन् ।

‘जब यो मसलाको बिरुवा लगाइयो, तब पानीको चरम अभाव सिर्जना हुँदै गयो,’ बर्दिबास हात्तीलेटका पदम मगरले भने, ‘मलाई लाग्छ– पानी सुक्नुको प्रमुख कारण यही नै हो ।’

पानी पाइरहने ठाउँहरूमा मसलाको रूख रोपेपछि पाउन छाडेको मगरको अनुभव छ । रूख ठुलो बनिसकेको ठाउँमा एक किलोमिटरसम्मको उर्बर भूमिसमेत बन्जर बनेको बताउदै यही रूखका कारण नै पानी र माटोलाई समेत असर गरेको उनको दाबी छ ।

अन्य रूखको तुलनामा अग्लो र मोटो हुने हुँदा स्वाभाविक रूपमा एउटा रूखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरू स्वीकार गर्छन् ।
पर्यावरणविद् डा. विजय सिंह पानीको दृष्टिकोणले मसलाको रूख मधेसमा हानिकारक नै भए पनि किसानहरूका लागि व्यावसायिक उत्पादनमा महत्वपूर्ण रहेको बताउँछन् ।

‘यो जातको रूख कत्तिको हानिकारक छ भन्ने विषय वैज्ञानिक ढंगले अनुसन्धान गर्न जरुरी,’ उनले भने, ‘मधेसमा पानीको समस्या गहिरिँदो छ, किसानले गरेको गुनासोमा अध्ययन गर्न सक्नुपर्छ ।’

तर, विभिन्न अध्ययनले भने मसलाको रूख पर्यावरणीय हिसाबले हानिकारक नै हुने निष्कर्ष निकालेका छन् ।

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले समेत मसलाको पातमा एसिड हुने हुँदा माटोको उर्बराशक्तिमा ह्रास आउने र पानी बढी सोस्ने निष्कर्ष निकालेको छ । लाइब्रेरीका अनुसार भूमिगत पानीमा यसले गहिरो असर पु¥याउने गर्छ, परिणाम स्वरूप मसलाको रूख भएको ठाउँमा पानीको अभाव चुलिँदै गएको छ ।

विज्ञहरूले यो रूखलाई पर्यावरण विरोधीका रूपमा उभ्याएका छन् । पारिस्थितिक प्रणाली तथा जैविक प्रणालीको हिसाबले अरूको अस्तित्व स्वीकार गर्न नसक्ने बताउँदै पर्यावरणविद् नागदेव यादवले मधेसबाट यो रूखलाई विस्थापन गर्नुपर्ने बताउँछन् ।

‘यो रूखमा चराचुरुंगीले त बासस्थान बनाउँदैनन् । त्यसमाथि किटपतंग समेत भेटिँदैन । त्यसैले यो रूखलाई पर्यावरण विरोधी हो भन्न सकिन्छ,’ उनले भने, ‘भूमिगत पानीको मुहानसमेत यो रूखले सखाप बनाइरहेको देखिन्छ ।’

यादवको जस्तै एक अनुसन्धानले पनि मसलाको एक वयस्क रूखले ६२ लिटरभन्दा बढी दैनिक पानी खपत गर्ने बताएको छ ।

सन् १९९३ मा युएनको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा ४०० एमएलदेखि १२ सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रूखलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिइएको छ ।

अध्ययनमा यो रूखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने उल्लेख गरिएको छ । अध्ययनअनुसार अझ तापक्रम असन्तुलन बनाइराख्ने हुँदा जलवायु परिवर्तनमा समेत न्यून भूमिका खेल्ने देखिएको छ । देख्दा सदाबहार हरित देखिए पनि मसला पानीका लागि निकै हानिकारक हुने बताइएको छ ।

केही वर्षअघिसम्म मधेसमा यो रूख लगाउन अभियान नै चलाइएको थियो । ‘आली–आलीमा सपेता, गरिबी बेपत्ता’ भन्ने मूल नाराका साथ मधेसका सागरनाथ वन परियोजनादेखि व्यक्तिगत जग्गामा समेत मसलाका रूखहरू व्यापक लगाउन थालियो ।

सागरनाथ वन परियोजना र जिल्ला वन कार्यालयका अनुसार अहिले मधेसमा करोडौँ संख्यामा मसलाका रूखहरू फैलाइएको छ ।
अस्ट्रेलियाका लेखक एलन रुटले पनि आफ्नो आर्टिकलमा यो रूख पानीका लागि भने हानिकारक हुन सक्ने बताएका छन् । यो रूखको उत्पत्ति पनि अस्ट्रेलियामा नै भएको मानिन्छ ।

लेखक रुटका अनुसार अस्ट्रेलियाको सिमसार र दलदल भएको ठाउँलाई सुख्खा बनाउन यो रूख लगाइएको थियो । पछि केही वर्षमा नै सिमसार क्षेत्रलाई यसले सुख्खा बनाइदियो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा लगाउन सुरु गरियो । छिटो बढ्ने र अन्य रूखको तुलनामा अग्लो, मोटो हुने हुँदा आयआर्जनका दृष्टिकोणले फाइदाजनक भएपछि विश्वभर फैलाएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रूख लगाइएको विज्ञहरू बताउँँछन् ।

मसलाको रूखलाई अरू भू–भागमा सार्नुमा अस्ट्रेलियाका डा. एडमन्डो नाभारु डे आन्ड्राडेको ठुलो योगदान रहेको बताइन्छ । ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा उनले अस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले । तीमध्ये ३ करोड ८० लाख वृक्षरोपण उनी आफैँले गरेका थिए । ब्राजिलमा मात्र दुई अर्बभन्दा बढी मसलाका रूखहरू रहेको बताइन्छ ।

यो रूख पानी र पर्यावरणीय हिसाबले हानिकारक नै छ भन्ने विषयलाई पछिल्लो समय अस्ट्रेलियाको सरकारले समेत महसुस गरेको देखिएको छ । यो रूखकै कारण पर्यावरणमा हानि पुगेको विषयलाई मध्यनजर गर्दै ३ लाख वर्गमिटरमा फैलिएका रूखहरूलाई विस्थापन गरिएको अस्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ । अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ ।

भारतमा १८४३ मा नै यो रूख भित्रिएको पाइएको छ । बेलायती नागरिकले तमिलनाडूमा ल्याएर रोपेपछि भारतलगायत यसको बिरुवा नेपालसम्म विस्तार भयो । सागरनाथ वन परियोजनाले २०३० को दशकमा नेपालमा भित्र्याएको थियो ।

पछि सरकारले यसलाई नीति नै बनायो । तराईमा ‘आली–आलीमा सपेता, गरिबी बेपत्ता’ भन्ने नारा नै बनाइएको थियो । मधेसमा मसलाको रूखलाई सपेता पनि भन्ने गरिन्छ । किसानहरूको अनुभव अनुसार यसले भयावह असर पु¥याइरहेको छ ।

उर्बराशक्ति क्षीण वनाउने, पानीको मात्रा सोसेर मरुभूमीकरणमा सहयोग गर्ने, प्रज्वलनशील हुने हुँदा आगलागीमा सहयोग पु¥याउने, अक्सिजनको मात्रा न्यून हुने, उत्पादनमा कमी आउँदा किसानहरू नियमित खेतीपातीबाट पलायन हुनुपर्ने अनेकौँ समस्या सिर्जना भएको किसानहरूको गुनासो छ । यही रूखका कारण मधेसका कतिपय पालिकामा किसानहरूले विस्थापन गरिदिन निवेदन समेत दिएको पाइएको छ ।

२०७६ सालमा बर्दिवासमा बसेको प्रदेश समन्वय समिति बैठकमा समेत मसलाको बिरुवा विस्थापन गर्नुपर्ने माग गरिएको थियो ।
यसै क्रममा धनुषाको मिथिला नगरपालिकाले त प्रस्ताव नै पेस ग¥यो । उपप्रमुखले पेस गरेको उक्त प्रस्तावमा मसलाको रूख हटाउने कानुन नै बनाउनुपर्ने माग गरिएको थियो ।

रूखले किसानहरूको पानी र बालीनालीमा गम्भीर असर परेको बाक्लै निवेदन आएपछि नगरसभाबाट मसला हटाउने र बरु फलफूलका बिरुवा रोप्ने निर्णय पास गरेको बताइएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिकाको विषयलाई लिएर पनि किसानहरूले गुनासो गर्न थालेका छन् । अघिल्ला नगर प्रमुख विदुरकुमार कार्कीले कतिपय सार्वजनिक कार्यक्रमहरूमा मसलाको रूख निषेध गर्नुपर्ने बताए पनि नीतिगत रूपमा भने पास हुन सकेको थिएन । अहिले पनि उक्त गुनासो बढ्दै गएको उपप्रमुख तारादेवी महतोका सहयोगी विष्णुदेव महतो बताउँछन् ।
‘हामीकहाँ पनि बाक्लै निवेदन आउन थालेका छन्, न्यायिक समितिमा । यसको विषयमा कसरी अगाडि बढ्ने भन्ने योजना बनाउँदै छौँ,’ उनले भने, ‘नगरको दक्षिणी क्षेत्रमा यो ठुलो समस्याका रूपमा खडा हुँदै छ ।’

उदारवादी अर्थतन्त्रको प्रभाव

मसलाको रूख नेपालमा भित्र्याउनुमा शक्ति राष्ट्रको स्वार्थ रहेको विज्ञहरू दाबी गर्छन् । वैज्ञानिक समाजवादीका नेता मदन प्रभात सन् १९९० पछि उदारवादी अर्थतन्त्रको प्रभावमा सरकारले चुरेभावर क्षेत्रमा सागरनाथ वन परियोजनाको नाममा लाखौँ हेक्टरमा युक्लिप्टस (भिक्स)को बिरुवा लगाएको दाबी गर्छन् ।

चाँडै आम्दानी दिने बिरुवाको नाममा चारकोसे झाडीको सखुवाका रूख मासेर दलदले जमिनलाई सुख्खा बनाउन मसलाको बिरुवा लगाएर नेपाली वन क्षेत्रमा उदारवादी अर्थतन्त्रको प्रयोग गर्नु नै सबैभन्दा दुःखद् भएको उनको भनाइ छ ।
‘भावर क्षेत्रलाई मात्र होइन, माथिल्लो चुरे र तल्लो मधेसलाई नै वातावरणीय रूपमा यसले असन्तुलित बनायो,’ उनले भने, ‘बितेका २०–२५ वर्षमा त्यो वनस्पतिले पारेको नकारात्मक प्रभावलाई हामीले नियालिरहेका छौँ । २०४८÷०४९ तिर सागरनाथ वन परियोजनामा बेर्नाका रूपमा छिरेको मसलाको बिरुवा आज चुरे र मधेसको कुन गाउँ र टोलमा नपुगेको होला र ? तत्काल यसले ५÷७ वर्षमा आम्दानी दिए पनि कालान्तरमा यसले कृषि, पर्यावरण र वातावरणमा पारेको प्रभावलाई केलाउने हो भने आजै गएर त्यो रूख काटौँजस्तो हुन्छ ।’

नेपाली समाजको परम्परागत वनपैदावारलाई मासेर विदेशी अनुदान र सहुलियत ऋणका लोभमा लगाइने यी र यस्ता अन्य वनस्पतिले पर्यावरणलाई कस्तो असर पारेको छ ? भन्ने सरकारी स्तरबाट नै अविलम्ब अनुसन्धान गर्न जरुरी देखिएको प्रभातको सुझाव छ ।