४ रूपैयाँले बढ्यो पेट्रोलको भाउ

४ रूपैयाँले बढ्यो पेट्रोलको भाउ

काठमाडौ
सरकारले पेट्रोलको भाउ बढाएको छ।

सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७४ रूपैयाँ प्रतिलिटर पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ प्रतिलिटर पर्नेछ।